हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाई

काठमाडाैं | असोज १३, २०८१

हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाई

लेबनानी सशस्त्र समूह हिजबुल्लाह उसको समग्र नेता हसनल नसरल्लाहको हत्या र अन्य विनाशकारी आघातबाट लडखडाइरहेको बेला हवाई आक्रमणमा हिजबुल्लाहका अर्का एक शीर्ष अधिकारीलाई मारेको इजरायली सेनाले आइतबार बताएको छ ।

 

इजरायली सेनाले हिजबुल्लाहको केन्द्रीय परिषद्का उपप्रमुख नबिल काउकलाई शनिबार मारिएको बताएको छ ।

 

हिजबुल्लाहका तर्फबाट यसबारे तत्काल कुनै टिप्पणी आएको छैन ।

 

साथै आक्रमण कहाँ भएको थियो भन्नेबारे पनि जानकारी भएको छैन ।

 

हालैका साताहरूमा इजरायली आक्रमणहरूमा दशकौँसम्म मृत्यु र पक्राउबाट बच्दै आएका हिजबुल्लाहका संस्थापक सदस्यहरूलगायत धेरै वरिष्ठ कमान्डरहरू मारिएका छन् । मारिनेमा नसरल्लाहका नजिकका व्यक्तिहरू पनि थिए ।

 

हिजबुल्लाहलाई उसका पेजर र वाकी–टाकीहरूमा गरिएको परिष्कृत आक्रमणको लक्ष्य बनाइएको थियो । उक्त आक्रमणका लागि व्यापक रूपमा इजरायलमाथि दोष लगाइएको थियो ।

 

लेबनानाको स्वास्थ्य मन्त्रालयका अनुसार लेबनानका ठूला क्षेत्रहरूमा गरिएको इजरायली हवाई आक्रमणबाट दुई साताभन्दा कम सयममा एक सय ५६ महिला र ८७ बालबालिकासहित एक हजार ३० जनाको ज्यान गएको छ । पछिल्ला आक्रमणका कारण लेबनानमा लाखौँ मानिस आफ्नो घरबाट भाग्न बाध्य भएका छन् ।

 

वातावरणमन्त्री नासिर यासिनले करिब दुई लाख ५० हजार मानिस आश्रयस्थलहरूमा रहेको सरकारले अनुमान गरेको बताउनुभयो । त्यसको तीनदेखि चार गुणा मानिस साथीहरू वा आफन्तहरूकहाँ बसिरहेका छन् वा सडकमा शिविर बनाएर बसेका छन् ।

 

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा रकेट र मिसाइलहरू प्रहार गरेको छ तर अधिकांशलाई रोकिएको छ वा खुला क्षेत्रहरूमा खसेका छन् । यसबाट उत्तरी इजरायलमा केही हताहत र सामान्य क्षति भएको छ । काउक सन् १९८० को दशकदेखि नै हिजबुल्लाहका अनुभवी सदस्य थिए ।

 

उनले सन् २००६ मा इजरायलसँगको युद्धमा दक्षिणी लेबनानमा हिजबुल्लाहको सैन्य कमान्डरका रूपमा सेवा गरेका थिए । उनी प्राय स्थानीय सञ्चारमाध्यममा देखा पर्थे र राजनीति तथा सुरक्षा विकासमा टिप्पणी गर्थे ।

 

साथै वरिष्ठ लडाकूहरूको अन्त्येष्टिमा श्रद्धाञ्जलि दिन्थे । अमेरिकाले सन् २०२० मा उनीविरुद्ध प्रतिबन्ध घोषणा गरेको थियो ।

 

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणले गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट, मिसाइल र ड्रोनहरू प्रहार गर्न थालेको थियो ।

 

हिजबुल्लाह र हमास दुवै इजरायलविरुद्ध इरान समर्थित ‘प्रतिरोधको धुरी’ का हिस्सा मान्ने सहयोगी हुन् ।

 

इजरायलले हवाई आक्रमणहरूमार्फत जवाफ दिएको छ र द्वन्द्व लगातार युद्धको सङ्घारमा पुग्दा क्षेत्रव्यापी द्वन्द्वको आशङ्का बढेको छ ।

 

इजरायलले उत्तरमा रहेका समुदायहरूबाट करिब एक वर्षअघि खाली गरिएका आफ्ना करिब ६० हजार नागरिकलाई फिर्ता ल्याउन प्रतिबद्ध रहेको बताएको छ ।

 

हिजबुल्लाहले भने गाजामा युद्धविराम भएको अवस्थामा मात्र आफ्नो रकेट प्रहार रोक्ने बताएको छ । अमेरिका, कतार र इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच महिनौँको अप्रत्यक्ष वार्ताका बाबजुद अझै पनि युद्धविराम सम्भव भएको छैन ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्